काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्ध थप सुदृढ बनाएर अघि बढ्न निर्देशन दिएका छन्।

आइतबार बसेको रास्वपा सचिवालय बैठकमा लामिछानेले तीनवटै पक्षबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकपछि पत्रकारलाई जानकारी दिँदै प्रवक्ता खरेलले भने-'पार्टी सभापतिज्युले बैठकमा पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध भएकाले यो तीन वटैबीचको सम्बन्ध बलियो बनाएर जानुपर्छ भन्ने निर्देशन दिनुभएको छ ।'

बैठकमा पार्टीका नेता, सांसद तथा समर्थकको अनुशासनका विषयमा समेत सभापति लामिछानेले निर्देशनात्मक धारणा राखेका थिए। 

साथै, पार्टीको संगठनात्मक गतिविधि र पार्टी तथा राज्यका विभिन्न संरचनाबीचको सम्बन्धलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको खरेलले बताए।