काठमाडौं - नारायणगढ-बुटवल सडक आयोजनाको म्याद थप एक वर्ष थपिएको छ।

तेस्रो पटकको म्याद सकिँदासम्म पनि जम्मा ७० प्रतिशत मात्र प्रगति भएको उक्त सडक निर्माणका लागि अन्तिम पटक भन्दै एक बर्ष म्याद थपिएको हो।

नारायणगण-बुटवल सडक आयोजनाले अहिले थप गरिएको म्याद अन्तिम पटकका लागि भएको र यो अवधिमा सडक निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने विश्वास दिलाएपछि अन्तिम पटकका लागि म्याद थप गरिएको आयोजनाले जनाएको छ।

साढे तीन वर्षमा सम्पन्न गर्ने भनिएको उक्त सडकको म्याद अहिलेसम्म चार पटक थप गरिएको छ। ठेक्का सम्झौता गर्दाको २०७९ साउन २२ गतेको म्याद सकिएपछि पहिलो पटक एक वर्ष थप गरी उक्त म्याद २०८० भदौ १२ सम्म पुर्‍याइएको थियो। त्यसपछि दोस्रो पटक ११ महिना म्याद थप गरी २०८१ साउन ८ गतेसम्म पुर्‍याइएको थियो भने तेस्रो पटक पुन एक वर्ष म्याद थप २०८२ साउन ८ गतेसम्म पुर्‍याइएको थियो।

आयोजनाका अनुसार नारायणगढदेखि बुटवलसम्मको ११३ दशमलव ५३ किलोमिटर लामो यो सडक दाउन्नेखण्ड र पुलहरूको वारिपारिबाहेक अन्य क्षेत्रमा दुईतर्फी नै कालोपत्रे भइसकेको छ। दाउन्ने खण्डको १३ किलोमिटर सडकमा अहिले पनि ढलान गर्ने काम भइरहेको आयोजनाले जनाएको छ।

२०७५ साल माघ २४ गते ठेक्का सम्झौता हुँदा २०७९ साल साउन २२ गतेसम्म सडक निर्माणको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने सर्त थियो। सडक विभागसँग ठेक्का सम्झौता गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७५ चैतदेखि नै निर्माणको काम सुरू गरेको थियो।