अफताव आलमको मुद्दाकाे सुनुवाइ स्थगित
काठमाडाैं - रौतहट बम विस्फोट तथा ज्यान मार्ने उद्योगमा थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश मानसिंह राउत र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा एक नम्बरमै पेशी तोकिएर पनि शुक्रबार सुनुवाइ नहुने भएको हो । विपक्षीका कानुन व्यवसायीहरुको माग बमोजिम सर्वोच्चले आलमको मुद्दाको सुनुवाइ स्थगित गरिदिएको हो । यसअघि पनि यो मुद्दाको पेशी तोकेर सुनुवाइ सर्दै आएको थियो ।
केही स्थानीयलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको घटनामा जिल्ला अदालत रौतहटले आलमलाई थुनामा राख्न आदेश दिएको थियो । त्यसविरुद्ध आलम उच्च अदालत वीरगन्ज पुगेका थिए। उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको थियो । जिल्ला र उच्च अदालतले थुनामै राखेर मुद्दाको किनारा लगाउन आदेश दिएपछि उनी सर्वोच्चमा पुगेका थिए । जहाँ उनले थुनामुक्त गरेर मुद्दाको अन्तिम सुनुवाइ गर्न माग गरेका छन् ।
आलम अहिले ललितपुरको नख्खु कारागारमा छन् । उनको मुद्दा जिल्ला अदालत रौतहटमा विचाराधीन छ । कोभिड–१९ को महामारी जेलभित्र समेत बढेको भन्दै रिहाइ हुनुपर्ने माग उनले रिटमा गरेका छन् । २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस