काठमाडौं - सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारेख बुझ्न जिल्ला अदालत काठमाडौं पुगेका छन् ।

बुधबार सभापति लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन सम्बन्धी अदालतमा विचाराधीन मुद्दामा तारेख बुझ्न बबरमहलस्थित अदालत पुगेका हुन् । 

लामिछानेले आफू विरुद्ध दर्ता भएको उक्त मुद्दामा कानुनी प्रक्रिया अनुसार आजको तारेख बुझेको अदालतका सूचना अधिकारी शिव खतिवडाले पुष्टि गरेका छन् ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा पुर्‍याएर अपचलन गरेको आरोपमा लामिछाने विरुद्ध मुद्दा दायर भएको थियो ।

यसअघि अदालतले सोही मुद्दाको थुनछेक बहसपछि उनलाई ६० लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

सोही आदेश अनुरूप उनी नियमित रूपमा अदालतमा उपस्थित भई तारेख धान्दै आएका हुन् ।

यसैबीच अब उनको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ ।