काठमाडौं - सरकारले चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान गरेको छ ।

बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण २०८२/८३ संसदमा सार्वजनिक गर्दै अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी गराएका हुन् । 

अर्थमन्त्री वाग्लेले विश्व परिवेशमै आर्थिक वृद्धिदर खुम्चिने तथ्य प्रस्तुत गर्दै नेपालको अर्थतन्त्र पाि ३.८५ प्रतिशतले विस्तार हुने जानकारी गराए ।

अर्थमन्त्री वाग्लेका अनुसारप्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय ३५ अमेरिकी डलर पुग्ने अनुमान छ ।

यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दै नेपालमा बागमती र गण्डकी प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा तल रहने जानकारी गराए ।

यस्तै अर्थमन्त्रीले संसद्‌मा पेस गरेको सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ।

आर्थिक गतिविधिमा बागमती प्रदेशको दबदबा कायम छ, जसले कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान पुर्‍याएको छ। यद्यपि, प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने ४.२० प्रतिशतले संकुचन आई ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको सर्वेक्षणले देखाएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ ।