काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । प्राधिकरणमा थमौती माग गर्दै शाक्यले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई हटाएर कुलमान घिसिङलाई ल्याएको भन्दै शाक्यले रिट दर्ताका लागि सर्वोच्चमा पेस गरेका हुन् । आफूलाई हटाएको जानकारीसमेत नदिई कुलमान घिसिङलाई नियुक्ति गर्नु असंवैधानिक भएको भन्दै रिट दर्ताका लागि पेस गरेको बताइएको छ ।

रिटमा शाक्यले आफूलाई पुनर्नियुक्त गर्न अन्तरिम आदेश माग गरेका छन् । शाक्य आफै रिट लिएर अदालत पुगेका थिए ।

कुलमान घिसिङले साउन २७ गतेबाट सिइओको पदभार सम्हालेका छन् । उनले सोही दिन नै ऊर्जा मन्त्रालयमा पुगर नियुक्तिपत्र बुझेका थिए । ४ वर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश भएका घिसिङले पुनः पदभार सम्हालेका थिए ।

गत साउन १९ गते नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले शाक्यलाई सरकारले उचित जिम्मेवारी दिने गरी निर्णय गर्ने भन्दै शाक्यलाई प्राधिकरणबाट भने विदा हुन आग्रह गरेकी थिइन् ।

सोहीअनुसार घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गरिने तयारी सरकारले गरेको थियो ।