वीरगंज - वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आज पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् । 

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको सञ्चार माध्यममार्फत थाहा पाएको भन्दै उनी बिहान ९ बजे कार्यालय समय सुरु हुनासाथ अदालत पुगेका हुन् ।

न्यायिक प्रक्रियामा सहयोग पु¥याउन स्वेच्छाले अदालत उपस्थित भएको नगर प्रमुख सिंहले बताए । 

तर, मुद्दाको चाप बढी रहेका कारण आज सुनुवाइ हुन नसक्ने अवस्था रहेकाले उनी अदालतबाट फर्किएका छन् ।

जिल्ला अदालत पर्साले सिंहविरूद्ध नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको जनाएको छ ।

नगर प्रमुख सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता जारी गराएको जाहेरी परेको थियो । 

जिल्ला अदालत पर्साले सिंहविरुद्ध जेठ ८ गते नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको भएपनि हिजो मंगलबार मात्रै यो विषय सार्वजनिक भएको थियो । 

अर्काकी छोरीलाई आफ्नै सन्तान कायम गरी झुटो विवरणका आधारमा जन्मदर्ता, नागरिकता र राहदानी लगायतका सरकारी कागजात बनाएको गम्भीर अभियोगमा अदालतले जिल्ला प्रहरी कार्यालय पर्साको नाममा पक्राउ पुर्जी जारी गरेको हो । 

 अदालतले आरोपीहरूलाई ७ दिनभित्र पक्राउ गरी अदालतमा पेस गर्न प्रहरीलाई आदेश दिएको छ। यदि सात दिनभित्र पक्राउ गर्न नसकिएमा ३५ दिने पक्राउ पुर्जी तामेली गर्न समेत अदालतले निर्देशन दिएको छ।

साथै अदालतले यो मुद्दामा राजेशमानकी श्रीमती र वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायलाई समेत पक्राउ पुर्जी जारी गरेको छ ।