काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको छ।

पार्टीभित्र आन्तरिक विवाद तीव्र बन्दै गएका बेला शनिबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग ‘चोचोमोचो’ मिलाएर धोका दिएको निष्कर्ष नेपाल समूहले निकालेको छ ।

नेपाल समूह पार्टीभित्र दाहालको भूमिकालाई लिएर थप सशंकित बनेको छ। बैठकअघि दाहालले पार्टीभित्रको संघर्षमा नेपाल समूहलाई साथ दिने बताएका थिए।

दुई अध्यक्षले चोचोमोचो मिलाएर वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन पहल गर्ने प्रस्ताव बैठकमा पेस गरी अन्य विषयलाई उपेक्षा गरेको भन्दै नेपाल समूह असन्तुष्ट बनेको छ।

कोटेश्वरमा आइतबार भएको आफू निकटको भेलामा नेता नेपालले सचिवालय बैठकमा रहस्यमय रुपमा ओलीसँग मिलेर दाहालले आफूलाई धोका दिएको बताएका थिए।

‘धोका नै दिएको त भन्न सक्दिनँ तर दुवै अध्यक्ष मिल्नुको रहस्य के हो भन्नेचाहिँ बुझ्न सकिएन’, भेलामा नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मलाई कुनै पदको लोभ छैन।’

भेलामा नेपालले सचिवालय बैठकबारे जानकारी गराउँदै सहभागीलाई अब कसरी अघि बढ्ने भन्नबारे सुझाव दिन भनेका थिए। ‘सचिवालय बैठकबारे मैले सबै विवरण बताए। यसबारे तपाइँहरु निष्कर्ष निकाल्नुस् र अब कसरी अघि बढ्ने भन्ने सुझाव दिनुस्,’ भेलामा सहभागी स्थायी कमिटीका एक सदस्यले नेपाललाई उद्धृत गर्दै भने।

नेपाल निवासमा आइतबार दिउँसो उनी निकट काठमाडौंमा भएका स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य भेला भएका थिए। भेलामा सहभागीले अध्यक्ष दाहालको भूमिका सधै शंकास्पद हुने गरेको र अहिले पनि ओलीसँग मिलेर धोका दिएको बताएका थिए।

 नागरिक दैनिकबाट