काठमाडौं - चीनले सहयोग गर्ने थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म काठमाडौं आइपुग्ने भएको छ।

चीन सरकारको सहयोगमा प्राप्त उक्त खोप २०, २२ र २३ अक्टोबरमा आइपुग्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका हुन्। चीन सरकारले पाँच मिलियन युयान रेनमिन्बी बराबरको चिकित्सा सामग्री सहायता गर्ने उनको भनाइ छ । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएकाे छलफलमा चीन सरकारले उक्त रकम बराबरको सहायता गर्ने बताएको हाे । उक्त सहायता नेपालमा कोभिड प्यान्डेमिकको तेस्रो लहर नियन्त्रणका लागि उपयोग गरिने श्रेष्ठको भनाइ छ।

यसअघि पनि चीनले नेपाललाई कोरोनाविरुद्धको  १० लाख डोज भेरोसेल खोप अनुदान दिएको थियो भने अन्य मात्रा पनि सरकारले  खरिद गरेको थियो ।