किरियापुत्री बसेका दम्पतीको आगलागीमा परेर निधन
काठमाडौं संखुवासभा । संखुवासभाको मादी नगरपालिका –५ स्थित च्याङरिङमा किरियापुत्री बसेका दम्पतीको आगलागीमा परेर निधन भएको छ।
मृत्यु हुनेमा किरियापुत्री बसेका मादी –५ का ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी रहेका छन् ।
काज किरियाका लागि बसेका श्रीमान राजेन्द्रबाबु र श्रीमती कमलाको आगलागीमा परेर बिहीबार राति १ बजे मृत्यु भएको हो । सात दिन अघि निधन भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि उनीहरु किरियामा बसेका थिए।
आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटना स्थलमै मृत्यु भएको बताइएको छ ।
बुबा कृष्णप्रसादको काजकिरियाका लागि चार छोरा बुहारी र छोरीसहित १२ जना एकै घरमा बसेका थिए । श्रीमान राजेन्द्रबाबु र श्रीमती कमला काज किरियामा बसेका घरबाट केही काम छ भन्दै नजिकै रहेको आफ्नो घर तर्फ लागेका थिए।
त्यसपछि उनीहरु निकै बेर नफर्किएपछि खोजी गर्दा घरमा आगलागी भएको देखेपछि स्थानीयहरुले राजेन्द्रबाबुको घरमा ढोका बन्द रहेको पाए । ढोका फोरेर भित्र पस्दा राजेन्द्रबाबु आगोमा परेर जलेका थिए भने श्रीमती कमला जलेर मृत अवस्थामा फेला परेका थिए ।
इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाको टोली घटना स्थलतर्फ लागेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस