काठमाडौं - अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुँदैछ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीहरुबीच आज टेलिफोन वार्ता हुन लागेको हो । फागुनमा हुने निर्वाचनको लागि आवश्यक सहायता र पुनर्निर्माणमा सहयोगलगायत विषयमा कुराकानी हुने बताइएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सोही समयमा टेलिफोनवार्ता गर्ने सहमति बनेको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा राजदूत श्रीवास्तवले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई भारतका प्रधानमन्त्री मोदीले पठाएको बधाई सन्देश सुनाएका थिए । भेटमा उनले दुई छिमेकी देशहरूबीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्न सँगै काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जालमार्फत र मणिपुरमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बधाई तथा शुभकामना दिएका थिए ।