काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेपछि कुलमान घिसिङले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै घिसिङले भने–‘विद्युतत्मा आत्मनिर्भर बनाउने मेरो प्रयास थियो, ममाथि वर्तमान ऊर्जामन्त्रीबाट अनावश्यक नैतिक प्रश्न उठाउने काम भयो ।’ सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनायो, म जिम्मेवार नागरिकका रूपमा कहिल्यै कम हुने छैन ।’

उनको विज्ञप्तिमा भनिएको छ-‘प्राधिकरणको कार्यकारी निर्देशकलाई गाली गर्न राज्यका जिम्मेवार व्यक्तिहरूले नै सार्वभौम संसद्‍को रोष्ट्रम कसरी सदुपयोग वा दुरुपयोग गरे ? नेपाली जनता आफै प्रत्यक्षदर्शी हुनुहुन्छ । तर त्यसबाट म उत्तेजित वा हतोत्साहित भएको छैन । किनकि एक इमानदार राष्ट्रसेवकका रुपमा मैले आफ्नो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन, अवसर र अधिकारलाई सदुपयोग गर्ने एक क्षण पनि खेर फालेको छैन ।’

‘ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी मुलुक भारत र बंगलादेशसम्म विद्युत् व्यापार विस्तार गर्नेलगायतका अभियानमा सक्रिय भएकोमा गत असारमा वर्तमान सरकार र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री आएपछि ममाथि अनावश्यक र गैरकानुनी दबाब सिर्जना भएको विषयमा सिंगो देश साक्षी छ । सरकारका नेतृत्वदायी जिम्मेवारीमा रहेका पदाधिकारीहरूबाटै प्राधिकरणको संस्थागत विकास, उन्नतिका कामकारबाही प्रभावकारी बनाउन परिपक्व सल्लाह, मार्गदर्शन र संरक्षकत्व प्राप्त हुनुको सट्टा मेरो तेजोबध गर्न, मनोबल गिराउन ममाथि सुनियोजित आक्रमणमा उत्रनुभयो । यो किन गरियो र कसका लागि गरियो भन्ने पनि प्रष्ट छ ।’-विज्ञप्तिमा थप भनिएको छ ।