काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनबीच शिष्टाचार भेट भएको छ।

भेट आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो ।

भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरे।

प्रधानमन्त्री शाहले रसुवालगायतका क्षेत्रमा आएको विपद्बाट नेपालीसँगै विदेशी नागरिक समेत प्रभावित भएको बताए। जलवायु परिवर्तनका कारण यस्ता विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै उनले जलवायुजन्य विपद् न्यूनीकरण र प्रभाव व्यवस्थापनका लागि विश्वव्यापी सहकार्य तथा सामूहिक प्रयास आवश्यक रहेको बताए।

प्रधानमन्त्री शाहले नेपालको पर्यटन क्षेत्रको सम्भावनाबारे चर्चा गर्दै अमेरिकी लगानीलाई नेपालले सधैँ स्वागत गर्ने बताए। पर्यटन क्षेत्रको विकासमार्फत दुवै देशले पारस्परिक लाभ लिन सक्ने उनको भनाइ थियो।

यसैगरी कार्यवाहक राजदूत बोल्डिनले रसुवाको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन्।

उनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिका तयार रहेको बताइन् ।