काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल पक्षले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ ।

प्रतिनिधिसभा विघटनविरुद्धको चौथो चरणको आन्दोलन अन्तर्गत सो पक्षले आज टुँडिखेललाई मानव साङ्लोले घेर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको स्रोतले बताएको छ । दिउँसो ३ः३० बजे मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने तयारी छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित रहेको सो पक्षले विभिन्न चरणमा विरोध प्रदर्शन गर्दै आएको छ ।

पहिलो, दोस्रो र तेस्रो चरणको आन्दोलन गरिसकेको सो पक्षले हालै चौथो चरणको आन्दोलन घोषणा गरेको थियो ।केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म जारी रहनेछ । फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा प्रतिगमनविरुद्ध हस्ताक्षर संकलन गर्ने बताइएको छ । २१ गतेसम्म विरोध कार्यक्रम हुनेछन् ।