दलहरूसँग संवाद नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरियो: एमाले
काठमाडौंं- नेकपा एमालेले दलहरूसँग संवाद नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको बताएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस्तो बताएका हुन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने- ‘सरकार बनेको यतिका समयसम्म राजनीतिक पार्टीसँग कुनैपनि छलफल, बहस वा संवाद गरेको छैन । राजनीतिक पार्टीहरूलाई विश्वासमा लिएको पनि छैन । शान्ति सुरक्षा र सुशासनको वातावरण तयार गरेको छैन ।’
उनले निर्वाचनका लागि आधारभूत वातावरण तयार नगर्ने, राजनीतिक दलहरूसँग संवाद नै नगर्ने र राजनीतिक दलहरूलाई निषेध गरेर जाने गतिविधि सरकारले गरिरहेको दाबी गरे ।
उनले भने- ‘निर्वाचनको वातावरण बनाउने हो भने यथाशीघ्र तीन वटा काम गर्नुपर्छ । पहिलो देशमा शान्ति सुरक्षा बहाल गर्नुपर्छ, दोस्रो दलहरूसँग अविलम्ब संवाद सुरू गर्नुपर्छ र तेस्रो सबै दलहरूको सुझावका आधारमा सरकार अगाडि बढ्ने विश्वास सिर्जना गर्नुपर्छ। हामी सबै दलहरूसँग छलफल गर्छौं, अहिले चुनावमा जाने भनेर कुनै दलहरूले के धारणा राखे त्यो उनीहरूको कुरा हो, तर सरकारले हामीलाई संवादमा बोलाएको छैन, निषेधको व्यवहार देखाइरहेको छ ।’
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सोमबार जारी गरेको थियो। त्यसप्रति एमालेले गम्भीर असहमति जनाएउदै दलहरूलाई संवादमा बोलाउन कार्की नेतृत्वको सरकारको ध्यानाकर्षण गराएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस