काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी बनाउने भएको छ । 

मंगलबार दिउँसो बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्ने वागमती प्रदेशको स्थायी कमिटी बैठकले प्रदेशको समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेको हो । 

गत फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि खनाल-नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको छ । सो पक्षले दुई महिने संगठन निर्माण र पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने घोषणा पनि गरिसकेको छ । 

हाल अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् । उनीहरुमाथि पार्टीको हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको आरोप छ ।