काठमाडौं - नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । देशभरीका करिब १४ हजार पत्रकार महासंघका सदस्यता लिएका सदस्यहरुले नयाँ नेतृत्वको लागि मतदान सुरु गरेका हुन् ।

नयाँ नेतृत्व चयनका लागि देशका ७७ जिल्लामा मतदान प्रक्रिया शुरु भएको छ । मतदान बिहान ९ बजेबाट शुरु भएको हो भने बेलुका ५ बजेसम्म जारी रहने छ । तोकिएको मतदानस्थलमा पुगरे आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न सकिने महासंघको निर्वाचन समितिले जनाएको छ । 

यस वर्ष जिल्ला र प्रतिष्ठानमा मतदानस्थल तोकिएको छ । उपत्यकामा काठमाडौँ पत्रकार शाखाका सदस्यका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानस्थल तोकिएको छ । यस्तै एशोसिएटका लागि दशरथ रंगशालामा मतदानस्थल तोकिएको छ भने प्रतिष्ठानका लागि विभिन्न मिडिया हाउसमा मतदानस्थल तोकिएको छ ।

महासंघको अध्यक्षको लागि विपुल पोखरेल, निर्मला शर्मा तथा गजेन्द्र बुढाथोकीले उम्मेदवारी दिएका छन् । उनीहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएर उम्मेदवारी दिएका हुन् । पोखरेल र शर्मा प्यानल बनाएर अध्यक्षमा उठेका छन् भने बुढाथोकी स्वतन्त्र रुपमा महासंघ हाँक्ने साहसका साथ मैदानमा उत्रेका हुन् ।