कैलाली - समाजवादी पार्टी नेपालका अध्यक्ष डा। बाबुराम भट्टराईले जातीय आधारमा प्रदेशहरु नबनेसम्म मुलुकमा शान्ति सम्भव नभएको बताएका छन् ।

शनिबारदेखि कैलालीको टीकापुरमा सुरु भएको थरुहट–थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जातीय राज्यको वकालत गरेका हुन् ।

अध्यक्ष भट्टराईले अहिलेको राज्य व्यवस्था आफूहरुले जनयुद्धकाक्रममा अभ्यास गरेको संघीयताको खिलाप गइरहेको भन्दै जनयुद्धका सहयात्रीले सन्चालन गरेको राज्य व्यवस्था त्रुटिपूर्ण रहेको बताए ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला र कर्णालीलाई समेटेर खस आर्य समुदायको अपनत्व हुने छुट्टै प्रदेश बन्नुपर्ने र कन्चनपुरदेखि चितवनसम्म थारु समुदायको प्रदेश हुनुपर्नेमा उनको जोड थियो ।

अध्यक्ष भट्टराईले जातीय आधारमा प्रदेश नबनेसम्म आन्दोलनमा सक्रिय रहन थारु समुदायलाई आह्वान गरे ।

सम्मेलनमा नेकपा क्रान्तिकारीका संयोजक मोहन वैद्य, राजपाका नेता लक्ष्मणलाल कर्ण, नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, पत्रकार किशोर नेपाल, लेखक खगेन्द्र संग्रौलालगायतले थारु समुदायको मुद्दा सम्बोधन गर्न राज्यको नेतृत्वमा बसेकाहरु तयार हुनुपर्नेमा जोड दिएका थिए  ।

टीकापुरस्थित सिटीहलमा सुरु भएको सम्मेलनको थरुहट–थारुवान आन्दोलनकाक्रममा ज्यान गुमाएका सहिद परिवारका सदस्यहरुले उद्घाटन गरेका थिए ।