विधान संशोधनपछि एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
काठमाडौं - नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ ।
एमाले ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको पूर्वसन्ध्यामा बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो ।
विधान संशोधन भएअनुसार १५ सदस्यीय रहेको पदाधिकारी संख्या बढेर १९ सदस्यीय बनाइएको छ । भने २५१ सदस्यीय रहेको केन्द्रीय कमिटीको संख्या ३०१ जना बनाइएको छ ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अब एक अध्यक्ष, एक महासचिव, ५ उपाध्यक्ष, ३ जना उपमहासचिव र ९ जना सचिव रहनेगरी विधान संशोधन गरिएको हो ।
त्यसबाहेक विधान संशोधनपछि एमालेको स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई), पोलिटब्युरो ९९ केन्द्रीय कमिटी ३०१ (पदाधिकारी सहित) रहनेछन् ।
यसअघि गत भदौ २२ गते सम्पन्न एमालेको विधान महाधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो ।
यस्तै शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनको प्रस्ताव अघि बढाउने तयारी गरेका थिए । तर वरिष्ठ उपाध्यक्ष एवं अध्यक्षका दाबेदार ईश्वर पोखरेलको विरोधपछि पछि हटेका ओलीले पुनः विधान संशोधनको प्रस्ताव गरी अनुमोदन गराएका हुन्।
प्रस्ताव अनुसार यस्तो बन्नेछ केन्द्रीय कमिटी र पदाधिकारी संख्या
अध्यक्ष १
उपाध्यक्ष ५
महासचिव १
उपमहासचिव ३
सचिव ७
स्थायी कमिटी ४५
पोलिटब्युरो ९९
केन्द्रीय कमिटी ३०१ (पदाधिकारी सहित))

.gif)




फेसबुक पेज Like गर्नुहोस