काठमाडौं - गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण नेपालमा बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप बढेको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । ‘भारतले आफू अनुकुल हुने गरी सीमामा बाँध बनाएको छ । जसले गर्दा नेपालमा क्षति भइरहेको छ’, गृहमन्त्री थापाले भने, ‘बाह्य हस्तक्षेपका कारण पनि नेपालमा प्रकोप बढेको छ ।’

सीमामा आफ्नो मात्रै हितमा बाँध बनाउनु एक किसिमको राजनीतिक हस्तक्षेप नै रहेको उनको भनाई छ । ‘उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’ उनले भने । नेपाल सरकारले पटक पटक सीमामा बनाइएका बाँधबारे कुरा उठाए पनि भारतले अटेर गरेको गृहमन्त्री थापाको आरोप थियो ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणमा रहेका बेला पनि यससम्बन्धी कुरा उठेको तर, समस्या समाधान गर्ने विषयमा प्राविधिक कार्यदल गठन भए पनि कार्यान्नयन नभएको उनको भनाई छ ।