कुखुराको मासुमा कार्टेलिङ: सरकार मुकदर्शक
काठमाडौं - पछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ । चल्ला र दानाको मूल्य निर्धारणमा उद्योगीको एकलौटी अधिकार भएकाले यसको कालोबजारी भएको हो । कुखुरापालक किसानले दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्ने अधिकार पोल्ट्री व्यवसायीको हातमा भएकाले यसको फाइदा उठाउँदै उनीहरूले बजारमा कार्टेलिङ गरेको आरोप लगाउँदै आएका छन । राष्ट्रिय कुखुरा पालक किसान सङ्घर्ष समितिका संयोजक विष्णु खड्काले पछिल्लो दुई महिनामा चल्ला र दानामा मूल्यमा सहनै नसक्ने गरी कार्टेलिङ भएको आरोप लगाए।
उनका अनुसार अहिले प्रतिक्विन्टल दानाको मूल्य तीन हजार ६०० रुपियाँ रहेको छ । पछिल्लो एक वर्षमा दानाको मूल्यमा ८५० रुपियाँ बढेको छ । सो अवधिमा प्रतिचल्ला ३० रुपियाँ पाइने गरेकोमा अहिले बढेर प्रतिचल्ला ७० रुपियाँ पुगेको छ । यसको बजार केही व्यापारीहरूमा नियन्त्रित र बजार अनुगमन प्रभावकारी हुन नसकेकाले यो समस्या आएको भन्दै अध्यक्ष खड्काले भने, “बजार अनुगमन गरेर कारबाही गर्नुपर्यो नि खै अनुगमन । ” सरकारको काम उद्योगीले नाफा खाएको र किसानले घाटा खाएको साँछी बस्नेबाहेक अन्य कुनै काम नभएको उनको आरोप छ ।
पोल्ट्री व्यवसायीलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने र कसैलाई मर्का नपार्ने तरिकारले मूल्य समायोजन गरौँ भनेर सरकारसँग माग गरेको धेरै भइसकेको तर कतैबाट पनि सुनुवाइ नभएको भन्दै किसानले गुनासो गर्दै आएका छन् ।
यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक–ढेड सातादेखि अनुगमन कुखुरा, दाता र चल्लामा केन्द्रित गरेको जनाएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले गत सातादेखि विभागले सक्रिय रूपमा हेर्दै आएको छ । कुखुरा, दाना र चल्ला महँगो हुनुको कारण कार्टेलिङ भएको स्वीकार गर्नुभयो । हामी कार्टेलिङ र मूल्य वृद्धिको सम्बन्ध पुष्टि गर्न लागेका छौँ ।
व्यापारी बजारप्रति जिम्मेवार भएर मूल्य घटाएको अवस्थामा तत्काल कारबाहीको प्रक्रियामा नजाउँला अन्यथा यही अवस्था रहे विभागले कडा कदम चाल्नै पर्छ र विभागले त्यो खालको अनुसन्धान खोजी गरिरहेको छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सरकारको बजार अनुगमन प्रभावकारी नहुँदा बजारमा कुखुरा, चल्ला, दानालगायतमा व्यापारीले कार्टेलिङ्ग गरेको आरोप लगाए।
कुखुराको भाउ विस्तारै सुधारोन्मुख
बजार अनुगमनको प्रभाव कुखुराको भाउ दुई दिनमै प्रतिकेजीमै ५० रुपियाँ घट्ने सङ्केत देखिएको छ । बिहीबार र शुक्रबार वाणिज्य विभाग र पशुपक्षी विभागले संयुक्त रूपमा गरेको अनुगमनको यो प्रभाव देखिएको हो ।
विभागमा महानिर्देशक सुवेदीले कुखुराको मासु चल्ला र अण्डाको मूल्य बढाउनेलाई कारबाही गर्न थालेपछि मूल्यमा विस्तारै सुधार आउन थालेको जानकारी दिए। यता नेपाल ह्याचरी सङ्घले आजदेखि नै लागू हुने गरी जिउँदा कुखुराको प्रंतिकेजीको भाउ १० रुपियाँ घटाएको छ । आज बिहानसम्म जिउँदो कुखुराको प्रतिकेजी २६० रुपियाँमा कारोबार थियो । माघको सुरुमा कुखुराको मासु प्रतिकेजी २५० रुपियाँमा किनबेच भएकोमा अहिले बढेर ४३० रुपियाँसम्म भएको छ ।
सिन्डिकेटमा मुकदर्शक सरकार
कुखुराको मासु, चल्ला र अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक हो । पछिल्लो दुई महिना अवधिमा यो व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने रोगको प्रकोप, हावा, पानी र मौसमी प्रतिकूलता तथा कुनै पनि सरकारी नीति आएका छैनन् तर पनि उपभोक्ताको ढाड सेक्ने गरी अण्डा र मासुको मूल्य बढेको छ । उपभोक्ता अधिकारकर्मी तिमिल्सिना भाउ बढ्नुको दुईवटा कारण भएको तीमध्ये पहिलो कारण कुखुरा र मासु व्यवसायीको सिन्डिकेट, दोस्रोे सिडिन्केटमा सरकारको मौनता रहेको बताउँछन्।
नेपाल ह्याचरी सङ्घका कोषाध्यक्ष बलराम सन्जेलले पछिल्लोपटक मूल्य बढ्नुमा उत्पादन पर्याप्त नहुनु र माग बढ्नु नै हो भन्ने दाबी गर्छन्। व्यवसायीले कार्टेलिङ गरेर भाउ महँगो भएको भन्नेमा कुनै पनि सत्यता नभएको भन्दै उनले भने“व्यवसायीले बदमासी गरेको भेटिएमा यसको कारबाही भोग्न तयार छौँ तर प्रमाणित गर्नुपर्यो । ”
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस