काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारका हिंसा भइरहेको बताएका हुन् ।

‘संविधान र कानुनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुन सक्छ र उत्पीडित समुदायहरूले न्यायको अनुभूति गर्न सक्छन्,’ सन्देशमा भनिएको छ, ‘सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खतरा पैदा भएको छ ।’

सामन्तवादका उपज सामाजिक कलंकका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरूका बीच एकताबद्ध पहलकदमीको आवश्यकता रहेको उनले बताएका हुन् । सामाजिक जागरण अभियान र कठोर कानुनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिने उनको भनाइ छ ।

जातीय छुवाछुत, विभेद र हिंसासम्बन्धी संविधान र कानुनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुतविरुद्ध जनचेतनालगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न सबैमा अपिल गर्दै यस दिवसको अवसरमा सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’

शुभकामना

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०७८ को अवसरमा सम्पूर्ण उत्पीडित र उपेक्षित जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय हो । आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेका छन् । संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुन सक्छ र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्छन् ।

सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी अहिले गुम्दै जाने खतरा पैदा भएको छ । सामन्तवादका उपज सामाजिक कलङ्कका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकता छ । सामाजिक जागरण अभियान र कठोर कानूनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिन्छ ।

जातीय छुवाछुत, विभेद र हिंसा सम्बन्धी संविधान र कानूनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुत विरुद्ध जनचेतना लगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ । स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न सबैमा अपिल गर्दै यस दिवसको अवसरमा सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

२१ जेष्ठ, २०७८

……………………………

पुष्पकमल दाहाल ‘प्रचण्ड’

अध्यक्ष