काठमाडौं - सरकारले कैलालीको गेटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटालाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। 

सरकारले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ तथा ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत गरेको छ।

यसैगरी, बैठकले ‘कारागार नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ। मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजनालाई पनि मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।