काठमाडौं - नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारले आलोकाँचो ढङ्गले संविधान संशोधनको विषय अगाडि सारेको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संविधान संशोधनको विपक्षमा नरहेको प्रस्ट पारिन्।

उनले भनिन्, ‘संविधान कुनै सरकारको क्षणिक राजनीतिक सुविधा वा सत्ता सन्तुलन मिलाउने साधन होइन। यो जनाको ऐतिहासिक सङ्घर्ष, बलिदान, सार्वभौम जनादेशको दस्ताबेज हो। त्यसैले संविधानको आधारभूत विषयलाई तलमाथि गर्न पाइँदैन।’

उनले राष्ट्रिय सहमतिबाट मात्रै संविधान संशोधनको प्रक्रिया बढाउनुपर्ने बताइन्। उनले नयाँ सरकार बनेसँगै राजनीतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता खस्कँदो अवस्थामा रहेको बताइन्।

उनले भनिन्, ‘हामीले जे जस्ता शासकीय राजनीतिक अभ्यासहरू देखिरहेका छौँ, त्यसले सुशासन, विकास, नागरिक स्वतन्त्रता र मानव अधिकारका विश्वव्यापी मानकहरूमा नेपालको खस्कँदो अवस्थालाई चित्रण गर्दै हामीलाई गम्भीर रूपमा चिन्तित बनाएको छ। देशभक्त राष्ट्रिय हितका सवालमा सरकार गम्भीर रूपमा चुकेको छ।’

नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले देशको ऐतिहासिक गौरव र राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाएको बताइन्। उनले सरकार असंलग्न परराष्ट्र नीतिविरुद्ध चल्न खोजेको आरोप लगाइन्।