काठमाडौं - सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
मुख्य सचिवका रूपमा नियुक्त भएका कार्कीले अब नेपाल सरकारको प्रशासनिक नेतृत्व सम्हाल्नेछन् ।
हालका मुख्यसचिव सुमनराज अर्याल अनिवार्य अवकाशमा जाने भएकाले कार्कीलाई नियुक्त गरिएको हो ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २०८२ मंसिर ८ गते मुख्यसचिव पदमा नियुक्त गरेका मुख्य सचिव अर्याल ५८ वर्षे उमेरहदका कारण असार २६ गते अनिवार्य अवकाशमा जाँदैछन् ।
आगामी ३० औं मुख्यसचिवका लागि वरिष्ठताका आधारमा किरणराज शर्मा,राजकुमार श्रेष्ठ,गोपालप्रसाद सिग्देल, गोविन्दबहादुर कार्की दाबेदार थिए ।
वरियतामा दर्जनौं सचिवभन्दा पछाडी देखिए पनि २०८१ भदौ २० गते सचिवमा बढुवा भएका कार्कीलाई कार्यक्षमता, अनुभव र नेतृत्व क्षमताका आधारमा मुख्यसचिवका लागि नियुक्त गरिएको स्रोतको भनाइ छ।
निजामती वृत्तमा कामकाजी प्रशासकका रूपमा चिनिने उनी पछिल्लो समय प्रशासन सुधारसँग सम्बन्धित कार्यमा पनि सक्रिय रहँदै आएका छन्।
कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन्।

.gif)


