काठमाडौं,एजेन्सी - पेरिस सेन्ट जर्मेन (पिएसजी) तथा अर्जेन्टिनी स्टार लियोनल मेसीले ‘फिफा द बेस्ट’ अवार्ड जितेका छन् । ३५ वर्षीय मेसीले पिएसजी स्टार किलियन एम्बाप्पे र रियल मड्रिड स्टार करिम बेन्जेमालाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् । 

मेसीको कप्तानीमा अर्जेन्टिनाले कतारमा विश्वकपको उपाधि जितेको थियो । उनले २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए । यस्तै, बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । 

दोस्रो पटक अवार्ड जितेका मेस्सीले भने – ‘यो अचम्मको कुरा हो । यो एक ठूलो वर्ष हो र यहाँ आउनु र यो अवार्ड जित्नु मेरो लागि सम्मानको कुरा हो । मेरा साथीहरू बिना म यहाँ हुने थिइनँ ।’ उनले अगाडि भने – ‘मैले लामो समयदेखि आशा गरेको सपना पूरा गरें । धेरै कम मानिसहरूले त्यो पूरा गर्न सक्छन् र म त्यसो गर्न भाग्यशाली छु ।’  पेरिसमा भएको समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको ‘पुरुष प्रशिक्षक’ घोषित भए ।  

स्कालोनीले म्यानचेस्टर सिटीलाई छैटौं प्रिमियर लिग उपाधि जिताउने पेप ग्वार्डिओला र रियल म्याड्रिडका च्याम्पियन्स लिग विजेता प्रशिक्षक कार्लो एन्सेलोटीलाई पछि पारे । 

इङ्ल्यान्डकी म्यानेजर सारिना विगम्यान वर्षको उत्कृष्ट ‘महिला प्रशिक्षक’ घोषित भइन् । एस्टोन भिल्ला र अर्जेन्टिनाका इमिलियानो मार्टिनेज ‘पुरुष गोलकिपर’को अवार्ड जित्न सफल भए भने ‘महिला गोलकिपर’को अवार्ड इंग्ल्याण्डकी मेरी इर्प्सले जितिन् ।