काठमाडौं - सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखक पक्राउकोविरुद्ध परेको बन्दीप्रत्येक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा पक्राउ शनिबार बिहान लेखकलाई प्रहरीले पक्राउ गरेको थियो । 

तर गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै आइतबार लेखककी पत्नी यशोधा लेखकले थुनामुक्त गर्न माग राख्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

यस आदेशसँगै सरकारले लेखकलाई हिरासतमै राखेर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनसम्बन्धी अनुसन्धान गर्न र बयान लिन पाउने व्यवस्था सुनिश्चित भएको छ।

यता लेखकसंगै पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समेत बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ भइसकेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ भए पनि आदेश भने आएको छैन । ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले आइतबार अदालतमा रिट निवेदन पेश गरेकी थिइन् ।

यसअघि, जिल्ला अदालत, काठमाडौंले दुवैलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।