काठमाडौं - गत भदौ २३ र २४ गते काठमाडौंसहित देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा प्रहरीतर्फ पनि ठूलो मानवीय र भौतिक क्षति भएको छ ।

प्रहरी प्रधान कार्यालयको प्रारम्भिक प्रतिवेदनअनुसार उक्त घटनामा ३ प्रहरीले ज्यान गुमाएका छन् भने १ हजार ९६३ जना प्रहरी घाइते भएका छन् ।

घाइतेमध्ये १ हजार ९३९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने २४ जना हाल विभिन्न अस्पतालमा उपचाररत छन् ।

आन्दोलनका क्रममा प्रहरी संरचनामा समेत व्यापक क्षति पुगेको छ । देशभर १९७ वटा प्रहरी भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने २५८ वटा भवन आंशिक क्षतिग्रस्त भएका छन् ।

त्यस्तै लामो–छोटो हतियार गरी करिब १ हजार १०० थान सामग्री लुटपाट तथा आगजनीमा परेका छन् । सम्पूर्ण क्षतिको विस्तृत विवरण संकलन भइरहेका कारण पूर्ण प्रतिवेदन सार्वजनिक हुन अझै केही समय लाग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।