भैरहवा - २० वर्ष कैद सजाय तोकिएका कर्तव्यज्यान मुद्दाका एक फरार प्रतिवादीलाई रुपन्देही प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ ।

साविक रुपन्देही मर्यादपुर गाविस हाल कोटहीमाई गाउँपालिका–५ का ७० वर्षिय हमिद धुनियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०६५ साल असोज ६ गते साविक मर्यादपुर गाविस वडा नम्बर ५ न्यौडिहवाका २० वर्षिय सन्तोष लोनिया ९चौहान० मृत अवस्थामा फेला परेपछि उनको बुवा शंकर लोनिया (चौहान)ले दिएको किटानी जाहेरीको आधारमा मुद्दाको अनुसन्धानपश्चात २०६७ साल कार्तिक १५ गते रुपन्देही जिल्ला अदालतले कैद सजाय तोकेपछि धुनिया फरार भएका थिए ।

धुनियालाई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा प्रहरी चौकी मर्यादपुरबाट खटिएको विशेष टोलीले नेपाल–भारत सीमा नजिक कोटहीमाई गाउँपालिका वडा नम्बर ३ बाट लुकिछिपी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर खत्रीले बताए । पक्राउ परेका धुनियालाई रुपन्देही जिल्ला अदालतमा पेश गरेपश्चात कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।