संविधान संशोधनमा एमाले सक्रिय, अग्नि खरेलको नेतृत्वमा उपसमिति गठन
काठमाडौं - नेकपा एमालेले संविधान संशोधनसम्बन्धी सुझाव सङ्कलन तथा अध्ययनका लागि उपसमिति गठन गरेको छ।
पार्टीको संविधान संशोधन सुझाव कार्यदलको आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकले संविधानका सबल र कमजोर पक्षको अध्ययन गरी संशोधनका आवश्यक विषयमा प्रस्ताव तयार गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो।
कार्यदलका संयोजक तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल को अध्यक्षतामा बसेको बैठकले अग्निप्रसाद खरेल को संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ।
उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्।
उपसमितिले संविधान कार्यान्वयनका क्रममा देखिएका चुनौती, जटिलता तथा संशोधन आवश्यक पर्ने विषयहरूको अध्ययन गरी सुझाव सङ्कलनको कार्ययोजना र विस्तृत कार्यतालिका आगामी बैठकमा पेश गर्नेछ।
यसअघि एमाले केन्द्रीय सचिवालयको जेठ ४, ८, ९ र १० गते बसेको बैठकले पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको थियो।
बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा वर्तमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई अझ प्रभावकारी, उत्तरदायी र सुदृढ बनाउने उद्देश्यका साथ राजनीतिक दल, नागरिक समाज तथा विभिन्न क्षेत्रका सरोकारवालाबाट सुझाव सङ्कलन गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी संविधान संशोधनका विषयमा अन्य राजनीतिक दल र तिनले गठन गरेका कार्यदलहरूसँग संवाद, छलफल तथा अन्तरक्रिया अघि बढाउने निर्णय गरिएको छ। कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई दिइएको छ।
कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र राजेन्द्र घिमिरे सदस्य रहेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस