काठमाडौं -  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेर नयाँ पार्टीको गृहकार्यमा रहेका डा. धवलशमशेर राणाले दुर्गा प्रसाईंसँग आफ्नो एकता हिन्दू राज्यसहित राजसंस्था पुनर्स्थापना नहुँदासम्म नटुट्ने बताएका छन् ।

आज आयोजिक एक पत्रकार सम्मेलनमा बोल्दै राणाले आफूले अहिलेसम्म राजनीतिक जीवनमा कसैलाई पनि धोका नदिएको र प्रसाईंलाई पनि नदिने यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले भने–‘गहन र सिरियस कुरामा धवलशमशेरले जे बोल्छ त्यही गर्छ भन्ने भाष्य छ । दुर्गा प्रसाईं र मेरो सहकार्य टुट्दैन । म दुर्गाजीको टिमलाई विश्वस्त पार्न चाहन्छु । मैले आफ्नो राजनीतिक जीवनमा धेरै धोका पाएको छु । तर आफैले कसैलाई धोका दिएको छैन । दुर्गाजीलाई पनि दिन्न ।’

कार्यक्रममा उनले राप्रपाको देखाउने र चपाउने दाँत फरक फरक रहेको बताएका छन् । आगामी दिनमा मजबुत राष्ट्रवादी शक्ति निर्माण गर्न लागिरहेको बताएका उनले नयाँ पार्टी २र३ महिनामै मजबुत पार्टीका रूपमा अघि बढ्ने र राजासहितको प्रजातन्त्र बोक्ने पार्टी अहिलेको राजनीतिमा विकल्प दिने पार्टी बन्ने बताए । 

उनले भने–‘मजबुत राष्ट्रवादी शक्तिको खाँचोलाई परिपूर्ति गर्न राप्रपाले सकेन । यो कुरा गएका निर्वाचनले प्रस्ट पारिसकेको छ ।’ राप्रपाले बोकेको मूल्य र मान्यता सनातनी हिन्दू अधिराज्यको एजेन्डा जनताले नभई राप्रपाले तिरस्कृत गरेको बताए ।  

उनले भने–‘हाम्रो एजेन्डा जनताले होइन, राप्रपाले तिरस्कृत गरेको हो । गणतन्त्रलाई प्रयोग गरेर हामीले बोकेको मान्यता स्थापित गर्ने भनिएको हो तर सभामुख खाएर एजेन्डाप्रति गद्दारी गरियो ।’

गणतन्त्रलाई नियमन र सबलीकरण गर्ने सभामुख जस्तो पद नै राप्रपाले खाइदिएपछि राप्रपाको खाने र देखाउने दाँत फरक फरक हो भनेर पुष्टि भएको उनले बताए ।