सुनसरी - जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका–१ का ३० वर्षीय भरतलाल मेहता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार रामधुनी नगरपालिका–५ स्थित शिवचोकबाट पक्राउ गरेको हो ।
मेहतालाई सुनसरी जिल्ला अदालतले २०८१ असार ३० गते जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाएको थियो। उनले ५ वर्ष ३ महिना कैद भुक्तान गरिसकेका थिए।
तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी झुम्का कारागारबाट फरार भएका थिए। पक्राउ परेका मेहताले अब ४ वर्ष ९ महिना कैद भुक्तान गर्न बाँकी छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका मेहतालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।
उनलाई पुनः झुम्का कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

.gif)


