काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग हुँदै आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत कार्गो शुल्क लगाउने आफ्नो प्रस्ताव फिर्ता लिएका छन्।
यसको सट्टा खाडी मुलुकहरूसँग ठूला व्यापार तथा लगानी सम्झौता गरिने र त्यसबाट अमेरिकाले अझ बढी लाभ लिने उनले बताएका छन्।
ट्रम्पका अनुसार ती सम्झौतामार्फत अमेरिकामा ठूलो परिमाणमा लगानी भित्रिनेछ र त्यसले लाखौं नयाँ रोजगारी सिर्जना गर्नेछ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै मध्यपूर्वका नेताहरूसँग भएको ‘अत्यन्त सकारात्मक वार्ता’ पछि २० प्रतिशत शुल्क लगाउने निर्णय परिवर्तन गरिएको बताएका छन्। अब प्राथमिकता खाडी मुलुकहरूसँग व्यापार र लगानीसम्बन्धी सम्झौतामा केन्द्रित हुने उनले उल्लेख गरेका छन्।
उनले भने, ‘यी लगानीहरूको आकार निकै ठूलो हुनेछ। यसले अमेरिकामा नयाँ कारखाना र उद्योग स्थापना गर्नेछ, जसबाट राम्रो तलब भएका रोजगारीका अवसर सिर्जना हुनेछन्।’
ट्रम्पले सोमबार मात्रै अमेरिका स्ट्रेट अफ होर्मुजको ‘संरक्षक’ बन्ने र उक्त समुद्री मार्ग हुँदै ओसारपसार हुने सबै कार्गोमा २० प्रतिशत शुल्क उठाउने घोषणा गरेका थिए। रणनीतिक रूपमा महत्वपूर्ण यस समुद्री मार्गको सुरक्षा अमेरिकाले गरिरहेको भन्दै त्यसको लागत अन्य मुलुकहरूले व्यहोर्नुपर्ने उनको तर्क थियो।

.gif)



