काठमाडौंमा आज गणतन्त्र र राजावादी पक्षधरको छुट्टाछुट्टै प्रदर्शन,सुरक्षा व्यवस्था कडा
काठमाडौं - काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। दुवै पक्षको प्रदर्शनलाई ध्यानमा राख्दै सरकारले कडा सुरक्षा व्यवस्था गरेको बताएको छ। आजको प्रदर्शनलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिने बताइएको छ।
चार दल सामेल रहेको समाजवादी मोर्चाले आज गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ। मोर्चाले काठमाडौंका विभिन्न भित्री सडकबाट जुलुस निकाल्दै काठमाडौंको भृकुटीमण्डपमा सभा गर्ने भएको छ।
मोर्चामा रहेका माओवादी केन्द्रले माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र सोह्रखुट्टेबाट जुलुस निकाल्दै बताएको छ भने एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट जुलुस निकाल्ने तय गरिएको छ।
त्यस्तै विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट जुलुस निकाल्ने बताइएको छ। यसैगरी राजतन्त्रको पक्षमा राजावादी दलहरुसहितको अभियानले आज काठमाडौँको तिनकुनेमा प्रदर्शन गर्ने भएको छ। राजतन्त्रको पक्षमा अभियान चलाएका दुर्गा प्रसाईले घोषणा गरेपछि यस प्रदर्शनको नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले अपनत्व लिदै सहभागी हुन आव्हान गरेको छ।
साथै सुवेदी नेतृत्वको समितिले राजतन्त्र फर्काउने आन्दोलनको जनकमाण्डर दुर्गा प्रसाईलाई बनाएको छ। आजको प्रदर्शनमा राप्रपा, राप्रपा नेपाल जस्ता राजावादी दलहरुले पनि सक्रिय सहभागिता जनाउने बताएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस