काठमाडौं - ​नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । 

फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विभिन्न दलहरूसँग गठबन्धनका कुरा बाहिरिएको भन्दै नेकपाले कुनै दलसँग पनि तालमेल नगर्ने स्पष्ट पारेका हुन् ।

तालमेलका लागि कुनै पनि दलसँग छलफल नभएको भन्दै उनले भने- 'हामी आफ्नै पार्टी र जनताको बलमा निर्वाचनमा जान्छौँ, यो कुरा पहिलो दिनदेखि नै भन्दै आइरहेका छौँ। म आज यो पत्रकार सम्मेलनमा एकचोटी फेरि दोहोर्‍याउन चाहन्छु, हाम्रो कसैसँग गठबन्धन गर्ने बारे छलफल भएको पनि छैन । भदौ २३ गते दुई तिहाइको अहङ्कारले युवाहरूको निर्ममतापूर्वक हत्या गर्ने अतिवादी प्रवृत्ति भएको दलसंग तालमेल हुँदैन । हुने स्थिति पनि छैन।'

रुकुम पूर्वबाट उम्मेदवारसमेत रहेका प्रचण्डले भदौ २३ गतेको जिम्मेवार दल र भदौ २४ गते विध्वंस मच्चाउने दलसँग तालमेल नगर्ने बताए।

बागलुङमा जनमोर्चासँग गरेको तालमेल बाहेक अन्यत्र कतै पनि तालमेलको चर्चा समेत पार्टीमा नभएको उनले बताए।