काठमाडौं - अझै तीन दिन देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभावले तीन दिनसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सफा रहने अनुमान छ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनसहित चट्याङ र हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशको पहाडी भू–भागमा सामान्य बदली रही अन्य भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव एक डिग्री सेल्सियस रहेको छ ।