काठमाडौं - काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रि–चन्द्र बहुमुखी क्याम्पसको आयोजनामा मंगलवार क्याम्पस प्राङ्गणमा विरोध तथा खबरदारी कार्यक्रम गरिएको हो । 

सोही क्याम्पसका स्ववियु सभापति गोबिन्द कोइरालाको नेतृत्वमा भएको प्रदर्शनमा “जेनजी आन्दोलनको सत्यता जान्ने हाम्रो अधिकार” भन्ने मूल नारासहित विद्यार्थीहरू सहभागी भएका थिए।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै विभिन्न नाराहरू लगाएका थिए। उनीहरूले “सरकार फेरियो, निर्वाचन गरियो, आइसकेको प्रतिवेदन किन लुकाइयो ?”, “सहिदको रगतले लतपतिएको प्रतिवेदन खै ?”, “प्रतिवेदन लुकाउन पाइँदैन”, “छानबिन भयो, परिणाम खै ?” लगायतका नाराहरू घन्काएका थिए।

त्यसैगरी, “विद्यार्थी मार्नेलाई कारबाही, सिंहदरबार जलाउनेलाई दण्ड, सहिदका परिवारलाई न्याय” जस्ता मागसमेत विद्यार्थीहरूले अघि सारेका थिए। कार्यक्रमका क्रममा क्याम्पस परिसरभित्रै हस्ताक्षर संकलन अभियान पनि सञ्चालन गरिएको थियो।

विद्यार्थीहरूले कार्की आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म आफ्नो आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनको क्रममा भएका घटना जाँचबुझ गरी गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसै वर्षको फागुन २४ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो । 

१ चैतमा बसेको मन्त्रिपरिषद बैठकले सो प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिवेदन भोलि आउँछ’ भने पनि हालसम्म सार्वजनिक गरिएको छैन ।

जेनजी आन्दोलन अगुवा र जवाफदेही निगरानी समूहले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै आएका छन् । प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले दिनहुँजसो माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका छन् । तर सरकारले यस विषयमा कुनै ठोस कदम चालेको छैन ।