आमापछि छोरीको शव पनि भेरी नदीमै फेला, ५ वर्षीय छोरा अझै अज्ञात
सुर्खेत - आइतबार दुई छोराछोरीसहित आमा बेपत्ता भएको घटनामा आमा पश्चात् छोरीको पनि शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीय माया कठायत, ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायतसहति सम्पर्कविहीन भएका थिए ।
प्रहरीका अनुसार मायाको शव सोमबार बेलुका भेरी नदीमा फेला परेको थियो । मंगलबार बिहान भने छोरी आशाको शव गुर्भाकोट नगरपालिका–१३ को भम्का भन्ने स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
तर ५ वर्षीय दीपकको अवस्था भने अझै अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
माया आइतबार बिहान छोरी र छोरासहित घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। बेलुकासम्म घर नफर्किएपछि उनका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा जानकारी गराएका थिए ।
त्यसपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमान्डमा चार जनाको प्रहरी टोली र स्थानीय बासिन्दा खोजतलासमा खटिएका थिए।
खोजीका क्रममा घरदेखि करिब तीन किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि मायाले नदीमा हाम फालेको हुन सक्ने आशंकामा खोजी तीव्र बनाइएको थियो।
सोमबार बिहानदेखि करिब ३५ जना प्रहरी र स्थानीयको टोलीले भेरी नदी आसपास क्षेत्रमा खोजतलास गरिरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस