काठमाडौं - नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको १९औं पटकको सत्याग्रहको १७औं दिनसम्म पनि सरकार बेखबर रहेको भन्दै आपत्ति जनाएको छ ।

संघका महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.ज्यूको १९ औं पटकको सत्याग्रहको आज १७ औं दिन भईसक्दा पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. के.सी.को जीवन रक्षाका लागि कुनै पहल नगरेकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सरकार आफैले डा. के.सी.सँग १८ औं पटकको सत्याग्रहको दौरानमा गरेका सम्झौता अनुसार डा. केसीका मागहरु नेपाल सरकारकै अंगको रुपमा स्थापित भई सकेको संघले स्मरण गराएको छ । ‘सरकार स्वयंले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्व साधारण नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा. के.सी.को जीवन रक्षा गर्नु नेपाल सरकारकै प्रमुख दायित्व हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सार्थक वार्ता गरी उत्पन्न समस्याको यथासीघ्र समाधान निकाल्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।’

कोभिड-१९ को महाव्याधिको बेला चिकित्सकहरु आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना नगर्न चिकित्सक संघले सरकारलाई चेतावनी दिएको छ । ‘हाल विश्वभर महामारीको रुपमा देखा परेको कोभिड–१९ को संक्रमणका कारण नेपालमा आजको मितिसम्म ४९१ जनाले मृत्युवरण गर्नु परेको एवं ७६,२५८ जना संक्रमित भईरहेको विद्यमान अवस्थामा डा. गोविन्द के.सी.को जीवन रक्षाका निम्ती हुन सक्ने कार्यक्रमहरुलाई मध्यनजर राख्दै नेपाल सरकारले यथासिघ्र वार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा उत्पन्न समस्याको समाधान गर्न अपरिहार्य भएको नेपाल चिकित्सक संघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।

डा. के.सी. को जीवन रक्षाका निम्ति नेपाल चिकित्सक संघले कठोर कदमहरु चाल्ने गम्भीर परिस्थिति सिर्जना नगर्न र यस संघ वार्ताका निम्ती सहजीकरणको भूमिका निर्वाह गर्न समेत तयार रहेको चिकित्सक संघले जनाएको छ ।