काठमाडौं-क्रिस्टियानो रोनाल्डोको शानदार प्रदर्शनमा साउदी क्लब अल नासरले पहिलो पटक अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ।

साउदी अरेबियाको रियादस्थित किंग फहद स्टेडियममा गएराति सम्पन्न खेलमा अल नासरले साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पुनरागमन जित निकालेको हो। १० खेलाडीमा समेटिएको अल नासरलाई च्याम्पियन बनाउन कप्तान रोनाल्डोले दुई गोल गरे।  अल हिलालका माइकलले गरेको एक मात्र गोल जितका लागि पर्याप्त हुन सकेन। 

५१ औँ मिनेटमा माइकलले गोल गरेपछि अल हिललाले सुरुवाती अग्रता लिएको थियो।  ७१औँ मिनेटमा अल नासर १० खेलाडीमा समेटिएको थियो। अब्दुल्लाह अल एम्रीलाई रातो कार्ड देखाइएपछि उनले मैदान छोड्नु पर्‍यो। 

७४औँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ को बराबरीमा फर्काए।  ७८औँ मिनेटमा अल नासरका नवाफ बोउसेललाई पनि पिच बाहिरै रातो कार्ड देखाइयो। त्यसपछि निर्धारित समयमा थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलियो। ​ ९८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को पुनरागमन जितसहित उपाधि दिलाए।

खेलको १ सय १५ औँ मिनेटमा रोनाल्डो चोट बोक्दै मैदान बाहिरिए। अरब क्लब च्याम्पियन्स कपमा ६ खेलमा ६ गोल गरेका ३८ वर्षीय रोनाल्डो मध्यपूर्व एसिया आएपछि पहिलो उपाधि जितेका छन्।