सङ्क्रमण देखिएसँगै नेपालगन्जमा कोरोना परीक्षणको चटारो
काठमाडौं - तीन दिनदेखि नेपालगञ्ज उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरेर पूर्ण रूपमा सिलबन्दी गरिएको छ । यो अवधिमा सहरका सडकमा एम्बुलेन्स, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका सवारी साधन मात्र गुडिरहेका देखिन्छन् ।
नगरका अधिकांश क्षेत्र सुनसान छन् । यहाँ २३ जना कोरोना विषाणु (कोभिड–१९) सङ्क्रमित भेटिएपछि केही दिन अघिसम्म बन्दाबन्दी (लकडाउन) उल्लङ्घन गर्ने व्यक्ति अहिले डरले घरबाहिर निस्केका छैनन् । भारतबाट आउने तरकारीको आयात पूूर्ण रूपमा रोकिएको छ भने स्थानीय थोक तरकारी मण्डी पनि अनिश्चित कालका लागि बन्द गरिएको छ ।
निषेधित क्षेत्रमा कसैलाई घरबाट बाहिर निस्कन नदिइए पनि औषधि र अन्य आपत्कालीन सेवाका लागि भने सीमित सङ्ख्यामा स्थानीयवासीलाई आउ–जाउ गर्न दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
नगरमा निषेधित क्षेत्र घोषणा लगत्तै जिल्ला स्वास्थ्य कार्यालय बाँकेको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले बढीभन्दा बढी स्थानीयवासीको कोरोना परीक्षण अभियान तीव्र बनाएको छ । सङ्क्रमित फेलापरेको क्षेत्र र सो वरिपरि क्षेत्रका बासिन्दाको पहिचान गरेर स्वाब सङ्कलन र परीक्षण कार्य तीव्र गतिमा भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले बताए । उहाँका अनुसार गएको तीन दिनमा पहिलो सङ्क्रमित र उनको सम्पर्कबाट सङ्क्रमित बनेका करिब तीन सय जनाको खोजी गरेर स्वाब सङ्कलन गरिएको छ । पहिलो दिन सङ्कलन गरिएका ५४ जनाको स्वाब परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जनाउँदै श्रेष्ठले दोस्रो तथा तेस्रो दिन सङ्कलन गरिएका स्वाबको परीक्षण भइरहेको बताए ।
नगरका विपन्न र मजदुरले निषेधित क्षेत्र घोषणा गरेर महामारी फैलिन नदिने प्रशासनको कदमको समर्थन गरेका छन् । यद्यपि दुई छाक टार्न समस्या भएको गुनासो उनीहरूको छ । बन्दाबन्दीका बेला पनि केही घण्टा छुट हुने हुँदा सो समयमा तरकारी बेचेर जीविका चलाइरहेका नेपालगञ्ज–११ का रहिस कबडियाले तीन दिनदेखि घरमै बस्नुपर्दा छाक टार्न समस्या भएको गुनासो गरे।
यो गुनासो कबडियाको मात्र होइन, नगरका अधिकांश गरिब, विपन्न र मजदुरको साझा गुनासो हो । नेपालगञ्ज–२ का राजेश बाल्मीकिले उपमहानगरपालिकाले एक महिनाअघि बाँडेको खाद्यान्न सकिएको साता पुग्न लाग्यो, बन्दले बाहिर निस्कन पाइँदैन, कसरी बालबालिका पाल्ने ? भन्दै प्रश्न गर्नुभयो । परसपुरबाट दैनिक १० किलो दूध ल्याएर बजारमा बिक्री गरी घर खर्च चलाउँदै आउनुभएका परसपुरका जयराम यादवले तीन दिनदेखि दूध बिक्री नहुँदा घर खर्च चलाउन समस्या हुन थालेको बताए । उता स्थानीय प्रशासनले भने महामारी फैलिन नदिन नगरलाई निषेधित क्षेत्र घोषणा गरेर सिल गर्न बाध्य भएको जनाएको छ ।
एउटै टोलमा २२÷२३ जना सङ्क्रमित भेटिएपछि सङ्क्रमण थप फैलिन नदिन तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको खोजी गरेर परीक्षण अभियान सहज बनाउन नगरलाई सिल गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए। उनले अहिलेको अवस्थामा महामारी फैलिन नदिने कार्य सबैभन्दा प्राथमिकतामा छ, त्यसैले केही कडा कदम चाल्नुपर्ने अवस्था आएको स्पष्ट पारे।
नगरलाई निषेधित क्षेत्र घोषणा गरेपछि सङ्क्रमितको कन्ट्याक्ट टे«सिङ र स्वाब परीक्षण प्रभावकारी बनाउन सहज भएको चिकित्सकले जनाएका छन् । भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले निषेधित क्षेत्र घोषणापछि सबै धर्मका धार्मिक अगुुवाको सहयोगमा स्वाब सङ्कलन सहज बन्दै गएको बताए । नेपालगञ्जमा एकैपटक धेरै सङ्ख्यामा सङ्क्रमित भेटिएपछि नगरभरि नै बढीभन्दा बढीको परीक्षण गर्नुपर्ने जनदबाब बढ्दै गएको छ । एक÷दुई दिनमै काठमाडाैंबाट परीक्षण किट आइपुग्ने भएकाले त्यसपछि सबै वडामा परीक्षण सुरु गर्ने नेपालगञ्ज उपमहानगरका उपप्रमुुख उमा थापामगरले बताइन्।
वैशाख २३ गते बिहान ११ बजेदेखि वैशाख २५ गते मध्यरातिसम्म नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो । स्थानीय प्रशासनले त्यो आदेशलाई यथावत राखी अत्यावश्यक सेवा सञ्चालन र दैनिक उपभोग्य वस्तु बिक्री वितरणका लागि केही खुकुलो बनाउने निर्णय गरेको छ ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस