काठमाडौं - कुवेतले घोषणा गरेको अवैधानिक विदेशी कामदारलाई घर फर्काउने आममाफी कार्यक्रममा विभिन्न देशमा २३ हजार ५ सय  अवैध कामदार सहभागी भएका छन् ।

कुवेतले कोरोना भाइरसको संक्रमण उत्कर्षमा रहेको बेला गत अप्रिल ३० सम्म देशमा रहेका अवैध  विदेशी कामदारहरुलाई विना जरीवाना आममाफी दिइ घर फर्काउने कार्यक्रम शुरु गरेको थियो । कुवेतले त्यसरी फर्किनेहरुलाई हजाई टिकट दिने बताएको छ ।

कुवेती सञ्चार माध्यमहरुले  आाममाफी प्रकृयामा सहभागी मध्ये २ हजार ५ सयलाई सम्वन्धित देशमा पुराइ सकेको उल्लेख गर्दै आममाफी प्रकृयामा संलग्न सबैलाई उनीहरुका देशमा पुराउने प्रवन्ध भईरहेको उल्लेख गरेका छन् । 

त्यहाँ ७ हजार नेपाली अवैध अवस्थामा रहेको राजदूत दुर्गा प्रसाद भण्डारीको अनुमान छ । तर कति  नेपाली आममाफीको प्रकृयामा सहभागी भए भन्ने सार्वजनिक भईरहेको छैन ।

कुवेतले  घर फर्किने ईच्छासहित आवेदन दिने व्यक्तिहरुलाई आफ्नो लगेज सहित  तोकिएका केन्द्रहरुमा आउन भनेको छ ।  आममाफीको प्रकृयामा प्रवेश गर्नेहरुलाई विमान चार्टर गरेर नेपाल पठाइन सक्ने बताइएको छ । 

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कुवेत सरकारले आममाफी दिएका कामदारहरुलाई डिटेन्सन सेन्टरहरुबाट  विमानमा  स्वदेश फर्काउन सकने संभावना रहेको बताउँदै उद्धार र व्यवस्थापनको प्रवन्ध गर्न नेपाल सकरारसंग माग गरेका थिए । उनले  स्वदेश फर्किने नेपालीलाई व्यवस्थापन गर्ने विषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्पष्ट जवाफ नदिएको बताएका छन् ।