काठमाडौं - एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं. २ मा हालसम्म १५६ जना उखु किसानलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो ।

बैंकले उखु किसानलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता गरेको थियो । सम्झौता अनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहान गर्दै किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो । साथै सुगर मिल्ससंग सहकार्य गरी किसानको उखु खेतीलाई आवश्यक अन्य बिभिन्न प्राविधिक सहयोग पनि गर्दै आएको छ ।

कर्जा प्रवाह भएपश्चात हालसालै बैंकले गरेको स्थलगत निरिक्षणमा अधिकांश किसानको जिवनस्तर परिवर्तन भएको र किसानले उखु बिक्रिबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पनि बैकले जनाएको छ । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।