जंगलमा मृत भेटिएकी अस्मिता धामीको हत्या भएको पुष्टि
काठमाडाैं - डडेल्धुराकाे हटवानी सामुदायिक वनमा मृत फेला परेकी स्वास्थ्य कर्मचारी अस्मिता धामीको हत्या गरिएको पुष्टि भएकाे छ । शव परीक्षणबाट परशुराम नगरपालिका-८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया धामीको हत्या गरिएको पुष्टि भएको हाे । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले शव परीक्षण रिपोर्टबाट हत्या भएको देखिएको बताए । घटनाको प्रकृति हेर्दा युवतीको हत्या भएको आशंकामा प्रारम्भिक अनुसन्धान थालेका डीआईजी सुवेदीले बताए ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार जोगबुढा अस्पतालका चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । असार २ गते स्वास्थ्य सामग्री पुर्याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामी शनिबार स्थानीय हटवानी सामुदायिक वनमा मृत फेला परेकी थिइन् । मृतकका श्रीमान र दुई छोरी छन् ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, इलाका प्रहरी कार्यालय जोगबुढाका अतिरिक्त प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालय धनगढीबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस