रविन्द्र मिश्रले मागे प्रधानन्यायाधीश जबराको राजीनामा
काठमाडौं - साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन आग्रह गरेका छन् ।
शनिबार न्यायका लागि साझा तराजु यात्रालाई माइतीघर मण्डलामा सम्बोधन गर्दै मिश्रले प्रधानन्यायाधीश जबराको निर्णय विवादमा परेकाले राजीनामा दिन आग्रह गरेका हुन् ।
‘संसद आएर महाअभियोगबारे चर्चा गर्नु अघि तपाईले राजीनामा दिनुभयो भने यसले सर्वोच्च अदालत र जनताको विश्वास फेरि पुर्नस्थापित गर्न सहायक सिद्ध हुन्छ’ मिश्रले भने ‘तपाई असाध्यै विवादित हुनुभयो। तपाईले गरेका निर्णय शंकाको घेरामा छ। तपाईले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैन्।’
यात्रामा सहभागीहरुले ‘त्रुटिपूर्ण फैसला रद्द गर, पीडितलाई न्याय गर’, ‘भ्रष्टलाई सिंहदरबार होइन, जेल हालौं’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । आफ्नै श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको जन्मकैद सजायमा ८ वर्ष ६ महिना छुट दिने सर्वोच्च अदालतको फैसलापछि प्रधानन्यायाधीश जबराको चौतर्फी आलोचना भएको छ ।
फेसबुक पेज Like गर्नुहोस