काठमाडौं - नेपाली काँग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया आजदेखि अगाडि बढाउने भएको छ। 

पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार महाधिवेशन सम्बन्धी गतिविधि शनिबारदेखि सुरु गर्न लागेको हो।

महाधिवेशनको तयारीअन्तर्गत निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशन प्रक्रियासम्बन्धी आवश्यक जानकारी र निर्देशन प्रदान गरिने जनाइएको छ।

कार्यक्रम आज दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुँदै छ। महाधिवेशनमा खटिने प्रतिनिधिहरूलाई सभापति गगन थापासहित शीर्ष नेताहरूले अभिमुखीकरण दिँदैछन्। काँग्रेसको महाधिवेशन असोज १६ र १९ मा काठमाडौंमा हुँदै छ। 

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यही चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। यस अवधिमा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइनेछ।

आगामी वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म छ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ। 

वैशाख महिनाभरि वडामा एकमहिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। सार्वजनिक कार्यतालिकाअनुसार जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी आगामी जेठ मसान्तसम्म केन्द्रमा पठाउनु पर्नेछ। केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी आगामी असार १५ गतेसम्म टुङ्गो लगाउने समयसीमा तोकिएको छ।

यस्तै, अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि २०८३ असार मसान्तसम्मलाई तोकिएको छ।