बुटवल - रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ का २ जना संक्रमितको मृत्यु भएको हो।

जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका अनुसार बुटवलमा ४७ वर्षिया महिला र भीम अस्पतालमा ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शिवराज नगरपालिका वडा नम्बर ५ की महिलाको उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको हो । मिर्गौलाको समस्या रहेको ती महिलामा भदौ २१ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई अस्पताल भर्ना गरेर आईसीयूमा उपचार भैरहेको थियो ।

यस्तै, सोही वडाका ५८ वर्षिय पुरुषको भीम अस्पतालमा उपचारको क्रममा आइतबार राती साढे १० बजे मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि भदौ २३ गते अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि पछिल्लो ३ दिनदेखि आइसीयूमा राखेर उपचार भैरहेको थियो । ती पुरुषमा दमको समस्या थियो।