आज महाशिवरात्रि पर्व मनाइँदै
काठमाडौं - प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आइतबार देशभर मनाइँदै छ ।
आइतबार दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गरिन्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस