काठमाडौं - परिवारसहित तीन दिनअघि मुम्बईबाट काठमाडौं आएकी अभिनेत्री मनीषा कोइराला अहिले राजधानीको एक होटलको क्वारेन्टाइनमा बसेकी छन् । उनले आफ्नो कोरोना टेस्ट पनि गराएकी छन् । उनीलगायत सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । 

विदेशबाट आएपछि १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमअनुसार घर नगई अभिनेत्री उनी आफ्ना ब्वाआमासँगै होटलमा बसेकी हुन् । 

मनीषा  मंगलवार मुम्बईबाट हवाईजहाजमा बनारस आएकी थिइन् । त्यसपछि गोरखपुर हुँदै गाडीमा भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी हुन् । मनीषा उनका बुवा, आमा र काकीसँग नेपाल आएकी हुन् । 

क्वारेन्टाइनमा रहेका कारण उनले निश्चित आफन्तबाहेक अरुसँग भेटघाट गरेकी छैनन् । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा जारी गरेपछि मनीषाले यसको स्वागत गरेकी थिइन् । त्यसपछि मनीषाको विरोधमा भारतीय मिडिया खनिएका थिए ।

अन्नपुर्ण पोस्टबाट