काठमाडौं,एजेन्सी - भारतमा कोरोना भाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । एकै दिनमा यति धेरै संक्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै १३ सयभन्दा बढीको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा एक दिनमा एक हजार ३४१ जनाको मृत्यु भएको उल्लेख छ ।

योसँगै देशभरी अहिलेसम्म कोरोनाका कारण कुल मृतकको सङ्ख्या एक लाख ७५ हजार ६४९ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार ६९२ जना संक्रमित भएसँगै कुल संक्रमितको सङ्ख्या एक करोड ४५ लाख २६ हजार ६०९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिले पनि कोरोना भाइरसबाट सङ्क्रमित रहेकाहरुको सङ्ख्या १६ लाख ७९ हजार ७४० पुगेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २३ हजार ३५४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएरपनि मुक्त भइसकेकाहरुको कुल सङ्ख्या एक करोड २६ लाख ७१ हजार २२० पुगेको छ । भारतीय मेडिकल रिसर्च काउन्सीलले गत शुक्रबार मात्रै देशभरी १४ लाख ९४ हजार ३९७ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ ।